facebook sharing button
काठमाडौं : तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।

चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्।

(हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ। बुधबार र बिहीबार इटहरीको तरहराको तापक्रम ३७.७ डिग्री पुग्यो। तरहराको तापक्रम ३५ डिग्री कटेपछि गर्मी मानिन्छ। र, ३६ डिग्री भएपछि धेरै गर्मी र ३७.७ कटेपछि अत्यन्त गर्मी मानिन्छ। त्यहाँ लगातार तीन दिन अत्यन्त गर्मी देखिएकाले हिटवेभ सुरु भइसकेको हुमागाईंले बताए।

गत अप्रिलमा पनि त्यहाँ हिटवेभ देखिएको थियो। त्यहाँ ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो। गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। टीकापुर क्षेत्रमा ३९.५ कटेपछि गर्मी मानिन्छ। अहिले ३९.८ पुगिसकेको छ। जनकपुरमा धेरै गर्मी छ। बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ। जनकपुरमा ३७ डिग्री पुगेपछि गर्मी, ३८.२ डिग्री कटेपछि धेरै गर्मी र ४० डिग्री कटेपछि अत्यधिक गर्मी मानिन्छ। तर, नेपालगन्जको तापक्रम सामान्य अवस्थामा यथावत् छ। काठमाडौंको पनि निकै गर्मी महसुस भएको छ। बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ। तर, धापाखेलको थ्रेसहोल्ड थोरै छ। त्यहाँ ३० डिग्री पुग्दा धेरै गर्मी मानिन्छ। धापाखेलमा दुई दिन लगातार ३०.४ र ३०.७ देखिएकाले धेरै गर्मी देखिएको उनले जनाए।

सर्वाधिक बढी तापक्रम ४६.४ डिग्री धनगढीमा 

हुमागाईंका अनुसार हालसम्मको तथ्यांकमा सबैभन्दा बढी तापक्रम धनगढीमा रेकर्ड भएको छ। सन् १९९५ को जुन १६ मा धनगढीको अत्तरीया स्टेसनमा ४६.४ डिग्री तापक्रम मापन गरिएको थियो। ४५ डिग्री धेरैपटक नाघेकोे छ। सन् १९९५ अगस्ट २ मा नवलपरासीको सेमरी स्टेसनमा ४५.८ डिग्री मापन भएको छ।

त्यसैगरी १९९५ को मे ३ मा भैरहवा एयरपोर्टमा ४५.२ छ। नेपालगन्ज सन् १९९५ को जुन १६ मा ४५.० डिग्री देखिएको थियो। सन् १९६६ को जुन ८ मा चिसापानी कर्णालीमा ४५ डिग्री पुगेको थियो। टीकापुरमा सन् २०१२ को जुन १३ मा ४५ डिग्री र सन् २०१२ कै मे २८ मा दीपायलमा ४५ डिग्री पुगेको थियो। अन्य धेरै वर्षहरूमा अत्यधिक तापक्रम देखिएका थिए।

काठमाडौंको हकमा अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम ३६.६ डिग्री मापन भएको छ। सन् १९८९ को मे ७ मा। त्यसपछि सन् १९९९ को अप्रिल २६ मा ३५.६ डिग्री र सन् २००० पछि २०१५ को जुन ६ मा ३४.६ डिग्री र २०१६ को जुन ६ मा ३६ डिग्री मापन भएको छ। बुधबार काठमाडौंमा ३०.७ डिग्री छ।

कसरी हुन्छ न्यूनतम र अध्यधिक तापक्रम

दिनैभरिको प्रत्येक घण्टाको तथ्यांक लिइन्छ। दिनभरिको सबैभन्दा धेरै तापक्रमलाई अत्यधिक तापक्रम मानिन्छ। दिनैभरिको सबैभन्दा कम तापक्रमलाई न्यूनतम मानिन्छ। अत्यधिक गर्मी र धेरै गर्मीको मापन अत्यधित तापक्रमको आधारमा निर्धारण गरिन्छ। यसमा न्यूनतम तापक्रम जति भए पनि सरोकार हुँदैन नहुने हुमागार्इंले बताए।

तुलनात्मक रूपमा हेर्दा पूर्वी नेपाल तातो देखिएको छ पश्चिमभन्दा। गर्मीको सिजन भएकाले पानी नपर्दा यतिको तापक्रमलाई स्वाभाविक मानिन्छ। तर, अझै पश्चिमी वायु भित्रिरहेको र यदि यो वायु बलियो भएमा वर्षा ल्याउने पनि बताए।

‘४० डिग्रीभन्दा माथि सहन सकिँदैन’

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार मान्छेले ४० डिग्रीसम्म मात्रै सहन सक्छ। त्योभन्दा बढी तापक्रम भएपछि अस्पताल नै पुग्नुपर्ने हुन्छ। ‘काठमाडौंमा ३३ डिग्री पुग्दा निकै गाह्रो हुन्छ। एक डिग्री तापक्रम बढ्दा अत्यन्त फरक पार्छ’ कँडेलले भनिन् ‘कहिलेकाहीँ प्वाइन्ट पाँचको मात्रै फरक हुन्छ। त्यसले पनि गर्मी महसुस हुने कुरामा अत्यन्त धेरै प्रभाव पार्छ। तापक्रम बढी हुन थालेपछि एक डिग्री ठूलो कुरा हो।’

त्यसैमाथि आर्द्रता बढी हुँदा झनै समस्या हुन्छ। आर्द्रताले झनै गर्मी गराउँछ। चिटचिट हुने हुन्छ तर पसिना आउँदैन। आद्रता बढी हुँदा शरिरबाट पसिना निस्कँदैन। पसिना निस्कियो भने शरीरको तापक्रम व्यवस्थापन हुन्छ। अलि चिसो हुन्छ। गर्मी बढी महसुस हुँदैन। तापक्रम र आद्र्रता दुवै बढी भएमा अत्यन्त गाह्रो हुन्छ।

उनका अनुसार त्यसैले पनि गर्मीमा अनुकूलनका कामहरू आवश्यक हुन्छ। तराईका विपन्न वर्गमा मान्छेलाई सामुदायिक भवनमा सुविधा भएका संरचनाहरू बनाउनुपर्छ। एयर कन्डिसनर तथा पंखा चलाउन नसक्नेहरूलाई लक्ष्यित गरेर सहयोग गर्नुपर्छ। तर, हिटवेभका लागि हालसम्म नेपालमा त्यस्ता संरचना बनेका छैनन।

कतिपय मुलुकले हिटवेभको समयमा विपन्नहरूका लागि निश्चित ठाउँमा ‘कुलिङ स्टेसन’ बनाएका हुन्छन्। अत्यधिक गर्मीमा उनीहरू त्यहाँ आश्रय लिन्छन्। पंखा किन्न नसक्नेलाई वितरण गर्ने, खानपिनको व्यवस्था गर्ने लगायतका काम भएका छन्। तर, नेपालमा हिटवेभ जस्ता विषयमा बेवास्ता गरिएको। कँडेलले भनिन्, ‘आउँछ,जान्छ भन्ने बुझाइ छ। तर, प्रविधिको प्रयोगमा ध्यान गएको छैन।’ समुदायलाई व्यवस्थापन गर्ने, जनशक्ति परिचालन गर्ने लगायतका विषयमा ध्यान नगएको उनको बुझाइ छ। गत अप्रिलमा तराई मात्र नभएर पहाडी भूभागमा समेत अत्यधिक गर्मी थियो। त्यतिबेला पूर्वतिर अत्यन्त गर्मी थियो। त्यसपछि केही दिन वर्षा भएसँगै तापक्रम ओरालो लागे पनि हाल अत्यधिक गर्मी सुरु भइसकेको छ।

तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यस्ता विषयमा समाधानको जिम्मा स्थानीय तहलाई हुन्छ। किनभने समुदायसँग सबैभन्दा नजिक स्थानीय तह हुन्छन्। हिटवेभका खतरा तथा जोखिमका बारेमा समन्वय गर्नेलगायत सचेतना फैलाउने तथा स्थानीय तहसँग समन्वय गर्ने काममा प्राधिकरण लागेको जनाए।

उनले भने ‘हिट वेभको असर गरिब, वृद्धवृद्धा, पोषणबाट बञ्चितहरूमा बढी पर्छ। हृष्टपुस्टलाई खासै प्रभाव पादैंन। उनीहरूको पहिचान गरेर काम गर्न पालिकाहरू नै बढी जानकार हुन्छन्।‘ त्यसैले उनीहरूको भूमिका प्रभावकारी हुने पोखरेलले बताए।

जल तथा मौसम विज्ञान विभागको निकालेको पूर्वानुमानअनुसार सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने काम गरिरहेको पनि बताए। अझै कम्तिमा दुई साता यस्तै अवस्था रहीरहने भएकाले विद्यालय बन्द गर्ने, ११ देखि ३ बजेसम्म काममा नलगाउने लगायतका निर्णय स्थानीय तहले लिन सक्ने बताए।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अर्को साता झनै तापक्रम उच्च हुने देखिएको छ। पोखरेलले भने, ‘यो साताभरि नै पानी पर्ने देखिएको छैन। अझै गर्मी सहन तयारी भएर बस्नुपर्ने देखिएको छ।’  फोटो : फाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *