जेठ ७, काठमाडौं । सिर्जनाको क्यानभासमा इलाम कविता सङ्ग्रहको शुक्रबार लोकार्पण गरिएको छ । यशोभानु साहित्य तथा सङ्गीत प्रतिष्ठानका अभिप्रेरक कवि तथा शिक्षासेवी भानुभक्त भट्टराईको प्रथम वार्षिकीका अवसरमा शान्तिनगरस्थित थाहा पुस्तकालयमा आयोजित कार्यक्रममा सो कविता सङ्ग्रह वरिष्ठ साहित्यकार प्रा.डा वासुदेव त्रिपाठीलगायतले संयुक्त रूपमा लोकर्पण गरेका हुन् ।

कविता सङ्ग्रहको लोकर्पणपछि प्रा. डा त्रिपाठीले नेपाली साहित्यमा कविताको स्थान र भानुभक्त भट्टराईको साहित्यिक योगदानको पनि चर्चा गरेका थिए । अन्य साहित्यकारहरूले इलाम जिल्लाको साहित्य इतिहास, पर्यटन लगायतका विषयमा बोलेका थिए । साहित्यकार राधेश्याम लेकालीले नेपाली साहित्यमा ३० को दशकका कविताले नेतृत्व गरिरहेको बताए । उनले सिर्जनाको क्यानभासमा इलाम कविता सङ्ग्रहमा इलामको स्रष्टाका मात्र नभई अन्य स्रष्टाका कविता पनि समाविष्ट गरिएको बताए ।

लेकालीले नेपाली साहित्यमा इलाम र दार्जिलिङले पुर्याएको योगदानको चर्चा गर्दै दार्जिलिङ कुँदिएको ढुङ्गा र इलामा नकुँदिएको हिरा भएको बताए । कार्यक्रममा अर्का साहित्यकार धरणीप्रसाद गौतमले कविता सङ्ग्रहको संक्षिप्त समीक्षा गर्दै सिर्जनाको क्यानभासमा इलाम श्रुतिग्रन्थ भएको बताए । उनले भने, ‘यो श्रुति ग्रन्थ हो ।’ उनको भनाइमा कविता सङ्ग्रहबाट इलाममा पर्यटक आकर्षण गर्न पनि मद्दत पुग्नेछ । कविता सङ्ग्रहका सम्पादक रमेश शुभेच्छुले पुस्तकमा इलामका अहिलेसम्मको साहित्य इतिहासलाई मोटामोटी रूपमा समेट्ने प्रयास गरिएको बताए । उनले भने, ‘पुस्तकमा इलामका अहिलेसम्मको साहित्य इतिहासलाई मोटामोटी रूपमा समेट्ने प्रयास गरिएको छ । ज्ञान दिलदासदेखि विभूति अधिकारीसम्मका कवितालाई समेटिएको छ ।’

 

डा. शुभेच्छुले निर्गुणभक्ति धाराका ज्ञान दिलदास जस्तै अरू कविहरू पनि इलाममा हुन सक्ने सम्भावना रहेको बताए । ‘ज्ञान दिलदासजस्तै निर्गुणभक्ति धाराका कविहरू इलामका हुन सक्ने सम्भावना छ । तर मैले यो विषयलाई पुस्तकमा लेखेको छैन । आधार नभइ लेख्न हुँदैन भनेर हामीले बुझेका छौं । मैले मौखिक रूपमा भन्न मिल्छ । ज्ञान दिलदासभन्दा अग्रज पनि निर्गुणभक्ति धाराका कवि हुनुहुन्छ । समकालीन पनि हुनुहुन्छ र अनुज पुस्ताका पनि हुनुहुन्छ । ज्ञान दिलदास मात्रै एक्लै इलाममा टुप्लुक्क पक्कै हुनुभएन होला,’ डा. शुभेच्छुले भने ।

कार्यक्रममा महेश्वर शर्मा, हरिहर खनाल, धरणीप्रसाद गौतम, मित्रा गौतम, राधेश्याम लेकाली, प्रमोद प्रधान, गोविन्द गिरि प्रेरणा, दामोदर पुडासैनी, ललिता दोषी, लता पौडेल ,वी पी इलामे, नन्दु परिश्रमी, तारा गाउँले, शिव रिजाल, राजु बराल, इन्दिरा दाहाल, ओमकुमारी बञ्जारा, मणि नेपाली पनेरु, लोचन भट्टराई, सचित राई, केशव भट्टराई, नवराज बर्देवा, भुवन शिवाकोटी चारघरे, पवित्रा नेपाल, उर्मिला नेपाल, पुष्पा नेपाल, वेदप्रसाद ढुङ्गेल, हरि समदर्शी, खगेन्द्र दाहाल साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नारायण भट्टराईले भानुभक्त भट्टराईको परिचय, कृति प्रकाशनसँग सम्बन्धित प्रसङ्गहरूका विषयमा बोलेका थिए । कार्यक्रममा कविता सङ्ग्रहमा कविता समाविष्ट गरिएका स्रष्टाहरूलाई प्रमाणपत्र पनि दिइयो । इन्दिरा दाहाल, खोलाघरे साहिंलो, नन्दु उप्रेती, ललिता दोषी, धर्मप्रसाद पोख्रेल,भोजकुमार सुवेदी हेम भण्डारी, खगेन्द्र दाहालले कविता वाचन गरेका थिए । कार्यक्रमको सभाध्यक्ष शान्ता भट्टराई रिजालले गरिन् भने गीता सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *