जेठ १६, काठमाडौँ । टोखा नगरपालिकामा तिलिङ्गाटार मा. वि र आदर्श समाज तिलिङ्गा टारको सहआयोजनामा नवनिर्वाचित पदाधिकारीहरुको स्वागत सम्मान एवम् हरिहर खनाल ग्रन्थाली एक कृतिको विमोचन भएको छ ।

शनिवार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. गजमान गुरुङ, साहित्यकार डा. रमेश शुभेच्छुको विशेष आतिथ्यमा सम्पन्न सो समाहरोहमा टोखामा बसोबास गर्ने समाजसेवी, शिक्षासेवी, राष्ट्रसेवकलगायत बहुमुखी क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । समारोहको सभाध्यषता आदर्श समाजका अध्यक्ष हरिहर खनाल र तिलिङ्गाटार मा।विका व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं छ का अध्यक्ष नरोत्तम रानाले संयुक्त रुपमा गरेका थिए ।

समारोहमा नगर उपप्रमुख मुरारी लामालगायत सबै वडाका अध्यक्ष र सदस्यहरु सहभागी थिए । कार्यक्रममा मेयर, उपमेयरले समाज विकासका पक्षमा चर्चा गरे भने रमेश शुभेच्छु र जगमान गुरुङ, डा. गोविन्द नेपाल, महेश्वर शर्मा पौडेल, डा. शेषकान्त अर्याललगायतले समाजको विकासमा बौद्धिकताको महत्वबारे बताए । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुडले टोखाको सांस्कृतिक महत्व उजागर गरे ।

अर्का अतिथि डा. रमेश शुभेच्छुले विमोचित कृति र हरिहर खनालका बारे बोल्दै खनाल आफ्नो समयको र समग्र नेपाली कथा परम्पराका पनि प्रतिनिधि कथाकार भएको बताए । खनालका समग्र कृतिलाई दश वटा ठेलीमा प्रकाशन गर्ने योजनाअनुरुप यो पहिलो ठेली जनसाहित्य प्रकाशन काठमाडौँका तर्फबाट प्रकाशन भएको हो । शुभेच्छुले खनालका कथा मात्रै चार चार सय पेजका तीन ओटा ठेलीमा प्रकाशन हुँदै गरेको र यो पहिलो ठेली सार्वजनिक भएको बताउँदै ठेलीभित्रका कथाका विषयमा बताए । उनले भने खनाल निम्न वर्गीय पात्रका कथकार हुन् । सीमान्तीय पात्रलाई न्याय गर्ने वर्गीय पक्षधरता देखाउने कथाकार हुन् ।

खनालका कथाका पात्रको सन्दर्भ पारेर उनले खनालको जीवनसंघर्ष पनि कथाका पात्रको जस्तै उतारचढावपूर्ण रहेको बताए । उनले टोखामा विशिष्ट साहित्यकार र अन्य विशेषज्ञ व्यक्ति रहेको भन्दै त्यस ठाउँको प्रशंसा गर्न र जनप्रतिनिधिहरुलाई सही ढंगले जनताको सेवा गर्न पनि सुझाउन भ्याए । खनालले सबै अतिथिमा स्वगत गरेका थिए भने रानाले सबैमा धन्यवाद गरेका थिए । कार्यक्रमको सञ्चालन तिलिंगाटार मा।विका प्र. अ सरोजकुमार पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *