जेठ २५, काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विमल घर्तीमगर, तेज तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विकेश कुथु, सुमन लामालाई टोलीबाट बाहिर राख्दै नयाँ टिम बनाएका थिए । अलमुताइरीको ‘तानशाह’ कार्यशैलीमा असन्तुष्टि जनाउँदै खेलाडीहरूले गएको वैशाख १३ गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए ।

नयाँ अनुहार समेटेर बनाइएको नेपाली टोलीले कुवेत जानुअघि कतारमा १० दिनको अभ्यास गरेको थियो । कतारमा नेपालले लिस्टे टिमोर, श्रीलंका र ओमानसँग अभ्यास खेल खेलेको थियो । नेपालले आज कुवेतको जाबेर अल अहमद रंगशालामा समूहको पहिलो खेलमा जोर्डनविरुद्ध खेल्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयानुसार राति १ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अलमुताइरीले जोर्डनविरुद्ध विनादबाब खेल्ने बताएका छन् । ‘‘हामीलाई दबाब छैन । किनभने, हाम्रो समूहमा हामी पोर्ट–४ को राष्ट्र हौँ,’’ प्रतियोगिताअघिको पत्रकार सम्मेलना अलमुताइरीले भने, ‘‘नेपालका लागि यो खेल महत्त्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’’ अल्मुताइरीले यस प्रतियोगिताका लागि बन्द प्रशिक्षण सुरु गर्नुअघि नै एसियान कपमा नेपाल छनोट नहुने दाबी गरेका थिए । लगत्तै टिमका सिनियर खेलाडीसँग उनको विवाद सुरु भएको थियो । अल्मुताइरी र खेलाडीबीचको विवाद समस्या पहिचान तथा सुझाव कार्यदलले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई भनिसकेको छ । अल्मुताइरीले आफूहरू सन् २०२६ को विश्वकप छनोटको तयारीमा रहेको बताएका छन् । ‘‘हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौँ । हामीसँग ११ नयाँ खेलाडी छन् । उनीहरूको औसत उमेर २१ वर्ष छ,’’ अल्मुताइरीले जोर्डनविरुद्धको खेलअघि भने, ‘‘हामीले उनीहरूको खेल हेरिरहेका छौँ ।’’

यस प्रतियोगिताका लागि कप्तानको भूमिकामा रहेका नवयुग श्रेष्ठले नतिजा जस्तो आए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘‘जोर्डन हामीभन्दा बलियो भएको प्रमाणित भइसकेको छ । तर, हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’’ कप्तान नवयुगले भने । छनोट प्रतियोगताको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र जेठ ३१ मा इन्डोनेसियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *