दोहा । तीन सातापछि कतारमा सुरु हुने २२ औँ विश्वकप फुटबलका खेलहरू विभिन्न ५ सहरका ८ वटा रङ्गशालामा आयोजना हुँदै छ। यीमध्ये ७ वटा रङ्गशाला विश्वकपकै लागि तयार गरिएका हुन्।
दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियम रङ्गशाला भने सन् १९७६ मा निर्माण भएको हो। ४० हजार दर्शक क्षमताको खालिफासहित एजुकेसन सिटी स्टेडियम ९७४ र अल थुमामा स्टेडियम सबै दोहामा अवस्थित छन्।यी सबैको दर्शक क्षमता पनि ४० हजार रहेको छ। लुसाइलस्थित लुसाइल स्टेडियम कतार विश्वकप आयोजना हुने सबैभन्दा ठुलो रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ८० हजार रहेको छ। यही रङ्गशालामा प्रतियोगिताको फाइनल हुने छ।
समूह चरणका ५ खेल, एउटा प्रिक्वाटरफाइनल, एउटा क्वाटर फाइनल र एउटा सेमिफाइनल पनि लुसाइलमा हुने छ। गत सेप्टेम्बरमा मात्र यो रङ्गशालाको उद्घाटन भएको थियो।अल खोरस्थित गत वर्ष उद्घाटन भएको बेत स्टेडियम ६० हजार दर्शक क्षमताको छ जहाँ समूह चरणका ५ तथा प्रिक्वाटरफाइनल, क्वाटर फाइनल र सेमिफाइनलका एक एक खेल हुनेछन्।
सबैभन्दा ठुलो रङ्गशाला लुसाइलमा पहिलो खेल अर्जेन्टिना र साउदी अरबबीच हुने छ। यो मैदानमा अर्जेन्टिनाले समूहको अर्को मेक्सिकोसँग खेल्ने छ।
साउदी अरब र मेक्सिको, ब्राजिल र सर्बिया तथा ब्राजिल र क्यामरुनबीचको खेल पनि यही रङ्गशालामा हुने छ।