चार्जिङ स्टेसन र चार्ज गर्दा बस राख्ने स्थान(पार्किङ)को व्यवस्था नहुँदा साझा यातायातले चिनबाट खरिद गरेर ल्याएका ३७ वटा बिजुली बस ३ महिनादेखि ग्यारेजमा थन्किएका छन्।

विद्युतीय सवारी साधन प्रवद्र्घन गरेर स्वच्छ वातावरण कायम गर्ने सरकारी नीति र योजनाको यी बसले धज्जी उडाएका छन्। विद्युतीय साधन प्रवद्र्घनमा सरकार अझै अनुदार छ भन्ने ज्वलन्त उदाहरण हुन, यी बिजुली बस।

साझा यातायातले ल्याएका ४० वटामध्ये बनेपामा २० र भक्तपुरमा १७ वटा गरी ३७ वटा बस थन्किएका हुन्।

तीन वटा बिजुली बस काठमाडौँमा सफलता पूर्वक संचालन गरिरहेको साझाले थप ३७ बस चार्जिङ स्टेसन र पार्किङको अभावमा थन्काएको छ।

सरकारकै लगानीमा खरिद गरिएका बसहरु कहाँ राखेर चार्ज गर्ने र कहाँ पार्किङ गर्ने भन्ने टुंगो नलाग्दा साझाले चलाउन नसकेको हो। बसहरुको प्राविधिक परीक्षण भएको लामो समय बितिसक्दा पनि साझाले बस चलाउने वातावरण तयार गर्न सकेको छैन।

बस किनेर ल्याउनु अघि नै बस संचालनका लागि आवश्यक पूवार्धारबारे पर्याप्त गृहकार्य र तयारी गर्न नसक्दा करोडौंको लगानी खेर गएको छ। अर्कातिर उपत्यकाको वायु प्रदुषण नियन्त्रणमा सहयोगी हुन सकेको छैन।

साझाले बिजुली बसको चार्जिङ स्टेसनसहित पार्किङ स्थल खोजिरहेको तर नभेटिएकाले बस चलाउन नसकेको बताएको छ।

साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधारले सरकारलाई चार्जिङ स्टेसन र पार्किङको विकल्पसहित व्यवस्थापनको लागि अनुरोध गरेको बताउँछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *