वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरको संख्या बल्ल १० हजार पुगेको छ।
शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने ३२ हजार २१८ पुगेको छ।
काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको बताए। उनले नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिए। तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरको उपाधि प्राप्त गरेको उनले बताए। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन्।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्ण अधिकारीले सबैभन्दा बढी विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये ‘इन्टरनल मेडिसिन’मा एक हजार ८८ जना रहेको बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेको उनले जानकारी दिए।
अधिकारीका अनुसार मधुमेह तथा हर्मोन रोग विशेषज्ञमा २८ जना विशेषज्ञ डाक्टर रहेका छन्। यस्तै मुटुरोगमा १२६ छन् भने पेडियाट्रिक्स कार्डियोलोजीमा एक जना मात्र विशेषज्ञ डाक्टर छन्। त्यस्तै क्लिनिकल जेनेटिक्समा दुई, क्रिटिकल केयर मेडिसिनमा दुई, फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसनमा तीन, यास्ट्रोइन्टेरेलोजीमा भने ४५ विशेषज्ञ चिकित्सक छन्।
हेमाटोलोजी (रक्तसम्बन्धी)मा तीन, कलेजो रोगमा एक, मिर्गौला (नेफ्रोलोजी) मा २६ जना विशेषज्ञ चिकित्सक छन्। यस्तै बाथरोग विशेषज्ञमा सात, श्वासप्रश्वास तथा क्षयरोग विशेषज्ञमा ३१, ट्रान्सफ्युजन मेडिसिन एन्ड टिस्यु टाइपिङ तीन, सरुवा रोग (ट्रपिकल मेडिसिन) एक, फ्यामेली मेडिसिन एक, पल्मोनोलोजी दुई, प्यालिटिभ मेडिसिन एक, कार्डियाक सर्जरी सात चिकित्सक छन्।
ग्यास्ट्रो सर्जरीमा दुई, हेपाटोबिलरी सर्जरीमा छ, न्युरो सर्जरी ५९, पेडियाट्रिक सर्जरीमा १९ र प्लास्टिक सर्जरीमा १३ जना विशेषज्ञ चिकित्सक छन्।