काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन्। सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे।
उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने बताए। प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे।
उनले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुददा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताए।
उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए। उनले अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे।
उनले भने, ‘अहिले पनि एकथरी मानिसहरु यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन्। अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ। राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म इतिहास साच्ची छ हामीलाई
दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन्। अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन। जनता नै सफल हुन्छन्। इतिहास जनताले लेख्ने। अस्तिको केही विस्तृत शान्ति सम्झौतामाथि अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो की भनेर देशभर ठूलो तरंग पैदा भयो। यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो। विभाजित माओवादीलाई एक ठाउँमा आउ, छिटो भन्दा छिटो ऐन अघि बढाऊ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसदमा दर्ता गराएँ। अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो। हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ।’
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन यही सदनमा प्रश्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए। उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए।
उनले भने, ‘हामीले संघीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो। संघीय शिक्षा ऐनलाई यसै सदनमा प्रस्तुत गर्ने र छिटो भन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु। मैले भर्खरै क्याबिनेटबाट जनयुद्धका, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।’
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन आफ्नो पार्टीका शिक्षामन्त्री हुँदा नै तयारी गरेको दाबी गरे।