नयाँदिल्ली — भारतमा राजनीतिक ध्रुवीकरण तीव्र भइरहेको पृष्ठभूमिमा विपक्षी कंग्रेसका नेता राहुल गान्धीलाई दुई वर्ष जेल पठाउने गरी गुजरातको एक अदालतले फैसला सुनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यक्तिगत तथा साम्प्रदायिक टिप्पणी गरेको अभियोगमा अदालतले राहुललाई दोषी ठहर गरेको हो । यद्यपि उनी तत्कालै जेल जाने वा नजाने र सांसद पद रहने वा नरहने भन्नेमा अनेक मत आइरहेका छन् ।

२०१९ मा लोकसभाको चुनावी भाषणमा कर्नाटकको कोलारमा राहुलले ‘सभी चोरोका सरनेम मोदी क्यों (सबै चोरको थर मोदी नै किन हुन्छ ?)’ भन्ने अभिव्यक्ति दिएका थिए । फ्रान्ससँग राफाल लडाकु विमान खरिदमा प्रधानमन्त्री मोदीले भ्रष्टाचार गरेको भन्दै कंग्रेसले चुनावी मुद्दा बनाएको थियो । त्यस्तै इन्डियन क्रिकेट लिग (आईपीएल) का व्यवस्थापक ललित मोदी, हीरा व्यापारी निरव मोदी भ्रष्टाचार अभियोग लागेपछि देश छाडेर भागेको सन्दर्भ जोड्दै उनले यो टिप्पणी गरेका थिए ।

राहुलको ‘गैरराजनीतिक अभिव्यक्तिले जाति र समुदाय विशेषको’ मानहानि भएको भन्दै भाजपा विधायक पूर्णश मोदीले मुद्दा दायर गरेका थिए । चार वर्षदेखि सुनुवाइ गर्दै आएको सुरतको जिल्ला अदालतले बिहीबार फैसला सुनाएको हो ।

अदालतले मानहानि मुद्दामा राहुललाई दोषी ठहर गर्दै २ वर्ष कैद र १५ हजार जरिवानाको फैसला सुनाएको छ । सुनुवाइका क्रममा राहुल अदालतमै उपस्थित थिए । ‘उक्त भाषणको आशय कसैलाई ठेस पुर्‍याउने नभई भ्रष्टाचारविरुद्ध लक्षित रहेको राहुलको भनाइ थियो, साथै यस विषयमा माफी नमाग्ने भनेर हाम्रो पक्षले स्पष्ट अडान राख्यो’ राहुलका वकिलले मिडियासँग भनेका छन् ।

फैसला सुनाएको अदालतले राहुलले माथिल्लो अदालतमा पुनरावेदन गर्न चाहेमा ३० दिनको समय दिने पनि आदेश दिएको छ । त्यसैले उनी कम्तीमा महिना पक्राउ पर्ने छैनन् । तर, यसका लागि अदालतले उनीसँग १० हजार धरौटी भने लिएको छ ।

कंग्रेसले अदालतको आदेशलाई पूर्वाग्रही भन्दै उच्च अदालत जाने बताएको छ । पुनरावेदन गए पनि राहुलको सांसद पद यथास्थितिमा रहन्छ कि रहँदैन भन्ने स्पष्ट छैन । खासमा सन् २०१३ मा कंग्रेस नेतृत्वको सरकारले ल्याएको कानुन रोकिएका कारण राहुल अहिले मुस्किलमा पर्न सक्ने सम्भावना द इन्डियन एक्सप्रेसले देखाएको छ ।

दुई वा सो भन्दा बढी सजाय पाएका कुनै पनि जनप्रतिनिधि निलम्बित हुने भनेर सर्वोच्च अदालतले दिएको फैसलाविरुद्ध मनमोहन सिंह नेतृत्वको सरकारले कानुन ल्याएको थियो । सजाय तोकिए पनि जनप्रतिनिधिको पद यथास्थितिमा रहने गरी ल्याएको कानुनको विपक्षी भाजपाले विरोध गरेको थियो । सत्तापक्ष कंग्रेसको पत्रकार सम्मेलनमा अचानक प्रवेश गरेका राहुलले पनि ‘वाहियात’ भन्दै कानुनको प्रति च्यातेका थिए । दबाबमा परेको सरकारले कानुन फिर्ता गरेको थियो । ‘विधिको पक्षमा भनेर राहुलले पक्षपोषण गरेको प्रबन्धले अहिले उनैका लागि सिकन्जा कस्न सक्छ ।’

यता, अदालतको आदेशपछि राहुलले महात्मा गान्धीको भनाइ ट्वीट गरेका छन् । जसमा भनिएको छ, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान् हो, त्यसको प्राप्तिको साधन अहिंसा ।’

कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुलले सरकारमाथि प्रश्न उठाइरहेकाले सरकार तिल्मिलाएको बताएका छन् । कंग्रेस नेतृ प्रियंका गान्धीले पनि सरकारले आफ्नो पूरै शक्ति राहुलविरुद्ध लगाएको प्रतिक्रिया दिएकी छन् ।

यसै साता दिल्ली पुलिसका अधिकारीहरू राहुल निवासन पुगेका थिए । डेढ महिनाभन्दा पनि अगाडि राहुलले कश्मीरमा दिएको एउटा भाषणका सन्दर्भमा जानकारी लिन पुलिस उनको निवास पुगेको थियो । उनले बलात्कारपीडित महिलाहरू प्रहरीकोमा जान डराएको अभिव्यक्ति दिएका थिए । उक्त भाषण दिएको धेरैपछि दिल्ली प्रहरीले त्यस्तो महिला को हो भन्ने जानकारी माग गर्दै गान्धीलाई नोटिस दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *