काठमाडौँ : इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ।
आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न लाइसेन्स लिन पहिलोपटक परीक्षा लिन शुरु गरेको हो। काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन्।
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको परीक्षा शुरु गरेको बताए। उनले पहिलोपटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए।
उनले इन्जिनियरको रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए।
सदस्यसचिव गिरीले परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने बताए। उनले विगतमा इन्जिनियरको प्रमाणपत्र लिइसकेकाले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन्। उनले परीक्षा निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिलले लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताए।
उनले इन्जिनियर बन्न निष्पक्षता, गुणस्तरीयताको ग्यारेण्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए। उनले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्वविद्यालयको इन्जिनियरिङ उत्तीर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली नभएको बताए।
उनले भर्खरै संशोधन भएको ऐनअनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तीर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायीको रूपमा काम गर्न पाउने भएको बताए। उनले काउन्सिलले लिने परीक्षाको मुख्य उद्देश्य विश्वविद्यालयहरूलाई गुणस्तरीय शिक्षाको विषयमा सुझाव दिने भएको बताए।
उनले परीक्षा लिँदा इन्जिनियर व्यवसायलाई गुणस्तर र मर्यादित बनाउने गर्ने विश्वास रहेको बताए। अध्यक्ष शाहीले पहिलोपटक २ हजार ६ जना इन्जिनियर परीक्षामा सहभागी रहेको बताए।
काउन्सिलले दुई दिन परीक्षा लिएर तत्कालै परीक्षाको नतिजा प्रकाशित गर्ने उनको भनाइ छ। उनका अनुसार परीक्षा कम्प्युटर प्रविधिमार्फत हुनेछ।
इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा लाइसेन्स दिने गरेको थियो।
अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।