काठमाण्डाै – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको सङ्गठित ठगी धन्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म पक्राउ परेका १४ जनाकै बयान सकिएपछि प्रहरीले पर्सि शुक्रवारसम्ममा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यस प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १४ आरोपितहरुविरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने तयारी छ ।

प्रहरीले सङ्गठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने यो प्रकरण राष्ट्रहित प्रतिकूल भएकाले त्यो कसुर आकर्षित हुने गरी मुद्दा चलाउन लागिएको हो ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने काम भएमा यसले राष्ट्रहित प्रतिकूल हुने उल्लेख छ । राष्ट्रहित प्रतिकूल हुने काम गरेको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिबाना वा त्यो अपराध गर्दा रकमको लेनदेन भए त्यो समेत जफत हुने व्यवस्था छ ।

यस्तै, अपराध संहिता ऐन अनुसार ठगी सम्बन्धी आरोप पुष्टि भए ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । सरकारी निकाय वा संस्थानलाई ठगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिबाना हुन्छ । यस्तै, कुनै पनि अपराध गर्न तीन वा त्योभन्दा बढीको समूह बनाइ सङ्गठित रुपमा काम गरेको भेटिए सङ्गठित अपराधको अभियोगमा मुद्दा चल्न सक्छ । सङ्गठित अपराध निवारण ऐन २०७० अनुसार, सङ्गठित अपराध गरेको पुष्टि भए मुल कसुरमा थप ५० प्रतिशत कैद र जरिबाना हुन्छ । सार्वजनिक पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरिसकेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परिसकेका छन् । बादलका छोरा प्रतीक थापा र नीरज राई फरार छन् । यो ठगी प्रकरणमा एक सय ६ जना पीडितका २० वटा उजुरी प्रहरीमा दर्ता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *